सन् २०१८ मा मिस पिंक उपाधि जित्नुअघिसम्म एन्जल लामा आमाबाटै उपेक्षित थिइन् । छोराका रूपमा जन्मिए पनि महिलाजस्तो व्यवहार देखाएकै कारण उनी आमाको मायाबाट ओझेलमा परिन् । ‘उपाधि जितेपछि भने आमाले म छोरी भएकोमा बल्ल गर्व गर्न थाल्नुभयो’, लामाले भनिन्, ‘आमाको मन जित्नकै लागि मैले मिस पिंकको उपाधि हात पार्नु थियो । यो उपाधिले मेरो परिवारको मप्रतिको विश्वास बढ्ने थियो भने यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा जिम्मेवार व्यक्ति बनाउने पनि पक्का थियो ।’
मिस पिंक भएपछि कसैले नसुनेको उनको आवाज सुन्न धेरै तयार भए । सञ्चारमाध्यमको ध्यानाकर्षण भएपछि उनलाई यो क्षेत्रमा काम गर्न सजिलो समेत भयो । मिस पिंक बनेपछि नै एन्जेलले सडक बालबालिकाका क्षेत्रमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यकमा जनचेतना फैलाउने र उनीहरूलाई आफ्नो अधिकारबारे बुझाउने काम गरिन् । ‘म यस क्षेत्रमा १६ वर्षको उमेरमा लाग्दा सामान्य कार्यकर्ता थिएँ होला, मिस पिंक भएपछि भने यस क्षेत्रको अभियन्ता भएको छु’, उनले भनिन्, ‘नेपाली चलचित्रमा हाम्रो समुदायका व्यक्तिलाई सधैं नकारात्मक भूमिकामा प्रस्तुत गर्ने चलन छ । तर मैले ‘ए मेरो हजुर–३’ मा तेस्रोलिंगी महिलाका रूपमा अभिनय गरें ।’
चलचित्रमा अभिनय गर्नुको उनको उद्देश्य पनि लैंगिक अल्पसंख्यकलाई पनि विवाहको आवश्यकता पर्छ र उनीहरूबीच हुने विवाहले पनि मान्यता पाउनुपर्छ भन्ने सन्देश दिनु थियो । एन्जल जीवनलाई काँडाको बाटोमा हिंडेको यात्रा महसुस गर्छिन् । भन्छिन्, ‘म जुन परिवेशबाट यहाँसम्म आएँ, यो बाटोमा काँडैकाँडा थियो । म चाहन्छु– यस क्षेत्रमा आउने दिदीबहिनीलाई मलाई जस्तै घोच्ने काँडाले नघोचोस् भनेर फूलैफूलको बाटो बनाउनुपर्नेछ ।’
तस्बिर : महेश प्रधान
हेयर एण्ड मेकअप : सुमन लामा
लोकेसन : नोर्चोक बुटिक होटेल, लाजिम्पाट