अनु थापा
अनु थापाको जन्म भारतको मध्यप्रदेशमा भएको हो । हाल उनी मुम्बईमा संर्घषरत छिन् । अनुले अभिनय कार्यशालामार्फत आफूलाई निखारेकी छिन् । ‘मलाई इन्डियन टेलिभिजनमा काम गर्ने रहर छ’ उनले भनिन् । एक वर्ष लामो अभिनय प्रशिक्षणका क्रममा उनले महिमा चौधरी, रविना टण्डन, राकेश वेदी, रोहितराज आदिको क्लास लिएकी छिन् ।
अनु जी टिभी, स्टार प्लस आदिका विभिन्न अडिसनमा सहभागी भैसकेकी छिन् । सिरियलमा काम पाउन सातवटा अडिसनमा उत्तीर्ण हुनुपर्नेमा उनी दोस्रो चरणसम्म पुगेकी छिन् । अब बाँकी चरणमा समेत छनौट हुँदै सिरियलमा अभिनय गर्ने आफ्नो सपना पूरा हुने कुरामा उनी आशावादी बताउँछिन् । यदि सिरियलमार्फत अघि बढ्न सम्भव नभए सर्ट मुभिमा अभिनय गर्ने उनको योजना छ । ‘मेरो उद्देश्य मोडल बन्ने होइन, एक्टिङ गर्ने हो,’ अनुले भनिन्
अनुको पुख्र्यौली थलो तनहुँ हो । उनका बुबा भारतमा कुकसम्बन्धी तालिम दिन्थे । त्यसैले उनीहरू उतै बसे । अनुले विभिन्न फेसन शोहरूमा भाग लिएकी छिन् । ५ फिट ४ इन्च अग्ली ४९ केजीकी अनु २५ वर्षकी भइन् । उनले डेढ वर्षअघि बुटबलका आइटि इन्जिनियर सन्तोष थापा मगरसँग लभ म्यारिज गरेकी हुन् । उनीहरू दुवै जना अहिले मुम्बईमा छन् । अनुलाई आफ्नो शरीरको अंगमा आँखा मनपर्छ । खाना बनाउने काम पनि उनलाई मनपर्ने काम हो । अनुमा नेपाली चलचित्र तथा म्युजिक भिडियोमा समेत काम गर्ने रहर छ । अधिकांश समय भारतमै बिताए पनि उनी बेला–बेलामा नेपाल आउँछिन् ।
राजाराम पौडेल
तस्बिर : सुरज श्रेष्ठ, एस टु प्रोडक्सन
लोकेसन : पोखरा