गायक तथा संगीतकार कन्हैया सिंह तथा गायिका अञ्जना गुरुङकी छोरी हुन्—अपेक्षा सिंह । कला क्षेत्रका अभिभावककी सन्तान अपेक्षा पनि अहिले कला क्षेत्रमा आएकी छिन् । आफ्नै आमाको स्वरको गीत ‘झिमझिम परेली....’ को म्युजिक भिडियोमा अभिनय गर्दै अपेक्षाले आफ्नो अभिनय तथा मोडलिङ यात्रा प्रारम्भ गरेकी हुन् । अमेरिकामा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियो दर्शकले मन पराएका थिए ।
बाल्टिमोरमा बसोबास गर्ने अपेक्षा अघिल्लो महिना आमा–बुवासंगै काठमाडौं आएकी थिइन् । तीजको सेरोफेरो पारेर काठमाडौं आएको बेला अपेक्षाले थप दुई वटा गीतका म्युजिक भिडियोहरुमा अभिनय गरिन् । ती मध्ये एउटा थियो गायिका अञ्जना गुरुङको तीज गीत ‘गाउँ र शहर तीजको लहर...’ । उक्त गीतको म्युजिक भिडियोमा अपेक्षाको नृत्यलाई दर्शकहरुले समेत मन पराए ।
ठ्याक्कै एक महिनाअघि अपेक्षाले अभिनय गरेको तेस्रो गीत ‘ठ्याक्कै भेटौंला’ को म्युजिक भिडियो सार्वजनिक भयो । उक्त गीतमा कन्हैया सिंह तथा अञ्जना गुरुङको स्वर छ । यूट्युबमा राम्रै दर्शक पाएको उक्त गीतमा अपेक्षाले मोडल जेम्स केसीसंग अभिनय गरेकी छिन् । अमेरिका तथा क्यानडामा आयोजना हुने नेपाली सांस्कृतिक कार्यक्रमहरुमा आकर्षक नृत्य कला प्रस्तुत गर्दै आएकी अपेक्षाले भविष्यमा सफल कलाकार बन्ने लक्ष्य लिएकी छिन् । सानैदेखि अभिनय तथा नृत्यमा रुची राख्दै आएकी अपेक्षा नेपाली गीतमा कम्मर मर्काउन पाउँदा खुशी हुन्छिन् ।
—कृष्ण भट्टराई
तस्बिर : महेश प्रधान
लोकेशन : यूनपार्क, शंखमुल