छ्योकी जन्मेको दोलखा रोल्वालिङमा धेरैको आर्थिक स्रोत नै आरोहण हो । सुन्दर हिमालहरूले घेरिएको बस्तीमा हुर्किनुले पनि होला, उनमा हिमालप्रतिको मोह दिन–प्रतिदिन बढ्दै गयो । सगरमाथा पुग्ने उनको सपनालाई पासाङ ल्हामुको मृत्युको खबरले उनलाई अझै तान्यो । यसैबीचमा उनले ६ हजारसम्मका थुप्रै हिमाल चढिन् । कलेज पढ्न काठमाडौं आएपछि उनी साथीहरूको लैलैमा कोरियातिर लागिन् । त्यहाँ गएपछि उनमा नेपाल र हिमालप्रतिको मोह बढेको सुनाइन् । सगरमाथा र बुद्धबारे जानकार विदेशीहरू नेपालबारे अनभिज्ञ पाउँदा विदेश बसिरहन सकिनन् । सन् २०१७ मा नेपाल फर्किएकी छ्योकीले सन् २०१८ मा सगरमाथा चढिन् । सगरमाथाको टुप्पोमा पुग्दाको अनुभव सुनाइन्, ‘बादल, हिमालहरू तल–तलजस्तो, आकाश नै छोएजस्तो, त्यो क्षण मेरा लागि स्वर्ग पुगेजस्तो भयो । अब हिमाल नै मेरो धैर्यता हो र आय आर्जनको मार्ग पनि ।’ उनी अहिले ट्रेकिङ गाइडका रूपमा पनि कार्यरत छिन् । आफूलाई जुन क्षेत्रमा रमाइलो लाग्छ त्यसैमा लाग्दा शतप्रतिशत सफलता मिल्ने उनको अनुभव छ ।
जब उनी सगरमाथा चढेर फर्किन्, उनको अनुहार हिउँले खाएर घाउ र कालो दागैदाग थियो । सबैले ‘ओहो † कस्तो रूप बिग्रिएछ त ?’ भन्ने प्रतिक्रिया गरे, तर छ्योकीलाई त्यसले केही असर गरेन । बरु त्यही घाउ र दाग नै उनलाई सुन्दर लाग्यो ।
राम्री देखिन कसलाई पो मन लाग्दैन र ? म अरू आरोहीभन्दा अलि नक्कली पनि छु तर यसरी हेबी मेकअप भने पहिलो पल्टै गरेको बताइन् । फोटो हेरेर दंग पर्दै उनले भनिन्, ‘ओहो ! हामीजस्तो हिमाल चढ्ने शेर्पिनी पनि मेकअपमा राम्री देखिँदो रहेछ ।’
सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान
मेकअप तथा हेयर : रिभाइभ स्पा एन्ड ब्युटी सैलुन, बौद्ध