लकडाउनमा केकी अधिकारी
अभिनेत्री केकी अधिकारी लकडाउनमा कपनस्थित घरमा परिवारसँगै समय बिताइरहेकी छिन् । चलचित्र क्षेत्रमा आएदेखि नै उनको व्यस्त जीवन सुरु भयो । त्यसपछि उनको जीवनमा आराम भन्ने शब्द नै हराएको अनुभव भइसकेको थियो । तर, कोरोना भाइरसको कारण विश्व नै ठप्प हुँदा परिवारसँग समय बिताउन पाउनुलाई अवसरका रूपमा लिन्छिन्, केकी । यसको सदुपयोग गर्नुपर्छ भन्ने केकीले महिना दिन लामो लकडाउनलाई आफ्नो अनुभवमा तीन चरणमा विभाजन गरेकी छिन् । लकडाउनको पहिलो साता उनका लागि मज्जाको ब्रेक भयो । दोस्रो साता भने दिन बिताउन गाह्रो भयो । बाहिर काममा गई रहनेहरूका लागि यसरी घरभित्रै बन्द हुनु सजिलो पक्कै होइन । केकीलाई पनि उथलपुथल र छटपटी भयो । चलचित्र हेर्न पनि मन नलाग्ने, टाउको दुखेको जस्तो हुने, दिमागमा धेरै कुरा आइरहने, भविष्यको चिन्ता हुने र मन एकाग्र नहुने भइरह्यो । तर, तेस्रो र चौथो साताको लकडाउनमा उनको मन सन्तुलनमा आयो । यो समय उनमा ऊर्जा मात्र बढेन, कहिले मन नपर्ने कुकिङमा पनि उत्तिकै रहर जाग्यो । किचेनमा नयाँ-नयाँ परिकार पकाउन हौसिइन् । पुस्तक पढ्नु र चलचित्र हेर्नु त उनको नियमित तालिकामै पर्छ । यो समयमा उनले पहिले हेर्ने चलचित्रहरू हेरिन् । साथीहरूसँग अनलाइनमा छलफलसमेत गर्छिन् । यही अवधिमा ‘भर्चुअल लिटरेचर फेस्टिभल’मा कलाकार साथीहरूसँग बहस पनि गरिन् । उनी भन्छिन्, ‘जब हामी फुर्सदिला हुन्छौं । पुराना कुरामा अल्झिरहन्छौं र भविष्यबारे चिन्तित हुन्छौं । यस्तो गर्दा मानसिक रोग लाग्न सक्छ । त्यही भएर खाली नबसी सिर्जनात्मक कार्यमा लाग्नुपर्छ ।’ त्यसैले उनी रीमा विश्वकर्मासँग मिलेर आफ्नो पेजमा अन्ताक्षरी कार्यक्रम पनि गरिरहेकी छिन् । साथै दर्शकका लागि लाइभ आउने त छदैछ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित मनोरञ्जन नै हुने उनको निष्कर्ष छ । तर, यस्तो सोच्न थालेमा मनोरोगी हुने भन्दै उनी थप्छिन्, ‘अहिले सबैले आफ्नो शारीरिक र मानसिक स्वास्थ ठीक राख्नुपर्छ । जब यसवाट निस्कन्छौं, केही ढोकाहरू बन्द होलान् । केही ढोका बन्द हुनु भनेको अर्काे ढोका खुल्नु पनि हो । त्यसैले चुनौतीलाई अवसरमा परिणत गरौं ।’
सिर्जना दुवाल श्रेष्ठ
तस्बिर - महेश प्रधान
लोकेसन - केकी अधिकारीको निवास, कपन
Saptahik Models
Other Models