सपनाको पौभा मोह
संसार कोरोना भाइरसका कारण आक्रान्त भइरहेका बेला कलाकार सपना पौडेल महर्जनले साप्ताहिकको ब्लो अपका लागि एक चित्र तयार पारेकी छन् । जहाँ उनले ‘श्वेत तारा’लाई रक्षकको बिम्बका रूपमा प्रस्तुत गरेकी छिन् । उनले चित्रमार्फत संक्रमितका लागि स्वास्थ्य, उपचार र दीर्घायुको कामना गरिरहेको देखाएकी छिन् । ‘जब संसारमा अवरोध आउँछ र अकाल मृत्यु निम्तन्छ, तब मानिसको जीवन बचाउन मानिसले नै सहयोग गर्ने देवीका रूपमा श्वेत तारा प्रस्तुत गरेकी हुँ ।’ ‘श्वेत तारा’लाई बुद्ध धर्ममा सालिन देवीका पुज्ने चलन छ ।
सपना अहिले पौराणिक पौभा क्यानभासमा उतार्न व्यस्त छिन् । उनले केही वर्षअघि आर्ट काउन्सिलमा एकल कला प्रदर्शनी गरेकी थिइन् । पहिलो प्रदर्शनीमै उनको धेरै चित्र बिक्री भएको थियो । उनी अहिले अनलाइन अर्डर लिई विदेशमा समेत आफ्ना चित्र बिक्री गरिरहेकी छिन् । उनका प्रायः चित्र भगवान् र संगीतसँग सम्बन्धित हुन्छन् ।
परम्परागत चित्रकलामा महिला सहभागिता कम भएका बेला सपनाले गरेको प्रयास उल्लेखनीय छ । कठिन मानिने यो विधामा लागेपछि अरुखाले चित्रप्रति रुचि नभएको उनको भनाइ छ । यस्ता चित्र बनाउन बढी समय लागे पनि तत्काल बिक्री हुन्छ । सपनाले परम्परागत चित्र कोरेर नामसँगै मनग्ये दाम पनि कमाइरहेकी छिन् । ‘परम्परागत शैलीका चित्र कोर्न पर्याप्त धैर्यता र मेहनतको खाँचो छ’, सपना भन्छिन्, ‘नेपाली कलालाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन परम्परागत चित्रकलाको महत्व धेरै छ ।’ उनले साप्ताहिकसँग भनिन् ।
सिर्जना दुवाल श्रेष्ठ
तस्बिर: महेश प्रधान
पहिरन: उषाज् स्टाइलिस्ट बुटिक, कुपण्डोल
लोकेसन: माइतीघर मण्डला