ताहाचल, काठमाडौंकी श्रद्धा सिलवाललाई गत वर्ष ‘लक्की’ सावित भयो । पेसाले सफ्टवेयर इन्जिनियर श्रद्धाले यही वर्ष मिस ग्रान्ड स्कुवा इन्टरनेसनल नेपालको उपाधि जितिन् । समुद्रको पींधमा तैरिने एडभेन्चर्ससँग सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता स्कुबा इन्टरनेसनल—२०१९ मा भाग लिन उनी मलेसिया पुगिन् । त्यहाँ उनलाई समुद्रमुनिको विचित्र संसारको अलग जीवन नियाल्ने अवसर जुर्यो ।
स्कुवा ड्राइभिङ गर्नेहरूका लागि ड्रिम डेस्टिनेसन मानिने मलेसियाको सिपादान आइल्यान्डको ‘मरिन वर्ल्ड’ मा जब तैरिइन्, समुद्रमुनिको अपार सौन्दर्यले उनलाई भुतुक्कै बनायो । श्रद्धा भन्छिन्, ‘एकदमै क्लियर पानीमा सामुद्रिक जीवहरू आफ्ना परिवारसँग हिँडिरहेको र सार्क तथा रंगीचंगी माछाहरू आँखै अगाडि देखिने विचित्र र विछट्टै सुन्दर संसार हुँदो रहेछ ।’
समुद्रसँग नजोडिएको भूपरिवेष्टित मुलुककी श्रद्धाले ‘मरिन वर्ल्ड’मा तैरिनकै लागि तालिम लिइन् । ‘सुरुमा त निकै जोखिमपूर्ण लागेको थियो, पछि त १५ किलोको अक्सिजन सिलिन्डर बोकेर तैरिँदा पनि अर्कै मज्जा अनुभव भयो,’ उनले अनुभव सुनाइन् ।
‘सामुद्रिक जीवहरूको संरक्षणार्थ’ आयोजना हुने उक्त साहसी सौन्दर्य प्रतियोगितामा यसपटक २३ देशका सुन्दरीहरूले प्रतिस्पर्धा गरेका थिए, जसमा श्रद्धा १२ औं स्थानमा रहन सफल भइन् । व्यक्तिगत जीवनमा गत वर्ष मात्रै उनले अर्को ठूलो उपलब्धि पनि हात पारिन् । ब्रुनेल युनिभर्सिटीबाट आईटीमा मास्टर्स सकिन् ।
हरेक क्रियाकलापमा अब्बल भएपछि युनिभर्सिटीले उनलाई ब्रुनेप्लस गोल्ड एवार्डले सम्मान गर्यो । सफ्टवेयरलाई ‘लक्ष्य’ र सौन्दर्य प्रतियोगितालाई ‘लगाव’ मान्ने यी २४ वर्षीया सुन्दरीले काठमाडौं विश्वविद्यालयबाट स्नातक पूरा गरेकी हुन् ।
जनक तिमिल्सिना
तस्बिर : कक्टस टेङ्ग/ मिस स्कुवा इन्टरनेशनल, महेश प्रधान/साप्ताहिक