अभिनेत्री बन्ने बाल्यकालदेखिको रहर थियो, डा. सूर्या थापाको । परिवारमा भने पढ्नेहरूकै जमात थियो । त्यसैले उनी रहरलाई भित्रै लुकाउँदै पढाइलाई प्राथमिकतामा राखेर अघि बढिन् । बुबा कमानसिंह थापा वरिष्ठ कृषि विशेषज्ञ हुन् । बुबाको सरकारी जागिर र बेलाबेलाको सरुवासँगसँगै उनी पनि विभिन्न जिल्लामा पुगिन् । हरेक वर्ष नयाँ स्कुल, नयाँ साथी र फरक वातावरणमा घुलमिल हुनुपर्थ्यो । स्कुलमा उनी क्लास टपर हुन्थिन् । कतिपटक त क्लास जम्प गरेर पढेको अनुभव पनि छ । पढाइ राम्रो हुनेले डाक्टर बन्नुपर्छ भन्ने मान्यता उनको मानसपटलमा हावी थियो । त्यसैले उनले दन्त चिकित्सकका रूपमा आफूलाई उभ्याएकी हुन् । फ्लोरन्स नाइटिंगेलबाट प्रभावित सूर्याले हरेक वर्ष दुर्गम ठाउँमा कम्तीमा दुइटा निःशुल्क दन्त शिविर चलाउने अभियानमा छिन् ।
उनको अहिले जावलाखेल र दरबारमार्गमा डेन्टल क्लिनिक सञ्चालनमा छ । दुइटा क्लिनिक हुँदा उनको व्यस्तता भ्याइनभ्याइ छ । साथीहरूले सधैं चलचित्र, मोडलिङतिर लाग्न प्रोत्साहित गर्छन् । क्लिनिकमा आउने बिरामीले पनि भन्छन्– तिमी त मोडल बन्नुपर्ने कहाँबाट डाक्टर बनेछौ ? सूर्याका लागि यी प्रोत्साहन अर्थपूर्ण थिए । सानैदेखिको रहर किन त्यत्तिकै छोड्ने ? फुर्सदको सदुपयोग पो गर्ने हो कि ? भन्दै मोडलिङ प्रशिक्षण लिन थालिन् । फोटोसुट, विज्ञापन, र्याम्प, म्युजिक भिडियो हुँदै उनले चलचित्रमा समेत अभिनय गर्ने भ्याइन् । उनको अभिनयको चलचित्र ‘शुभलाभ’ प्रदर्शन भइसकेको छ भने ‘चिनी कम रङ कडा’ प्रदर्शनीको तयारीमा छ । अभिनय अनुभवले उनले राम्रै ब्रान्डमा काम गर्नुपर्ने निर्क्योल निकालेकी छिन् । मान्छेहरू ब्रान्डका लागि किन मरिहत्ते गर्दा रहेछन् भन्ने पनि उनले बुझिन् । सूर्या धार्मिक कर्ममा पनि उत्तिकै आस्था राख्छिन् । केही नयाँ काम सुरु गर्नुअघि उनी पूजापाठ गर्ने भ्याउँछिन् । काम राम्रो गर्नुपर्छ तर फलको आशा गर्नु हुन्न भन्ने भनाइ सुन्दै हुर्केकी सूर्यालाई म्याक्सिलो फेसियल सर्जन बन्ने चाहना छ, त्यसका लागि उनी तयारी पनि गर्दैछिन् । युवा पुस्ता सबै विदेसिए नेपालको विकास कसरी हुन्छ भन्दै डा. सूर्याले भनिन्, ‘म म्याक्सिलो फेसियल सर्जन नेपालमै रमाउने हो ।’
सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान
मेकअप तथा हेयर स्टाइल : मीनाकुमा