कान्तिपुर टेलिभिजन तथा कार्टुन्ज क्रूको युट्युब च्यानलबाट प्रसारण भैरहेको वेब सिरिज ‘यू एन्ड आई’ यतिबेला दर्शकमाझ लोकप्रिय छ । युवापुस्ताको प्रेमकथामा आधारित उक्त सिरिजलाई युवा पुस्ताका दर्शकले अत्यन्त रुचाएका छन् । यही श्रृंखलाबाट अभिनय क्षेत्रमा पदार्पण गर्ने अभिनेत्री हुन्— तमन्ना केसी । पनौतीमा स्थायी बसोबास भएकी २१ वर्षीया तमन्नाले उक्त सिरिजमा पहिलो श्रृंखलादेखि नै अभिनय गरिरहेकी छिन् ।
‘यू एन्ड आई’मा छनौट हुनुअघि उनले दुई चलचित्र तिमी हुन्छौ जहाँ जहाँ तथा जानी–नजानी साना–तिना भूमिका निर्वाह गरेकी थिइन् । तिनै दुई चलचित्रको अनुभवले उनलाई वेब सिरिजको महत्वपूर्ण भूमिका प्राप्त भएको हो । ५ फिट ३ इन्च अग्ली तमन्ना अभिनयमै करियर बनाउन चाहन्छिन् । ठूलो ब्यानरको राम्रो चलचित्र उनको लक्ष्य हो । प्लस टुसम्मको अध्ययन पुरा गरेकी तमन्ना फुर्सदमा जिमशाला धाउँछिन्, चलचित्र हेर्छिन् । अभिनय, नृत्य तथा स्विमिङ उनका सौख हुन् ।
तमन्नालाई पहिरनमा वन पिस मन पर्छ । दुई वर्षअघि एउटा र्याम्प फेसन शोमा क्याटवाक गर्दै मनोरञ्जनको क्षेत्रमा आएकी तमन्नाले केही पत्र–पत्रिकाका लागि फोटोसेसन समेत गराइसकेकी छिन् । - कृष्ण भट्टराई
तस्बिर: महेश प्रधान
पहिरन: डिएस कलेक्सन, शेर्पा मल
लोकेसन: पाङ्ग्रा एक्सप्रेस, शेर्पा मल
मेकअप: अम्बु रुचाल, मिरर ब्युटी क्लब, मैतीदेवी