गत कात्तिक २ गते नेपाल सरकारले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउने उद्देश्यले सद्भावना दूत नियुक्त गरेदेखि चिनियाँ अभिनेत्री सु चिङ नेपाली दर्शकमाझ चर्चाको विषय बनेकी छिन् । ५० वर्षीया यी सुन्दर अभिनेत्रीलाई पर्यटनमन्त्री योगेश भट्टराईले काठमाडौंमा एउटा समारोह नै आयोजना गर्दै सद्भावना दूत घोषणा गरेका थिए । त्यसक्रममा अभिनेत्री चिङले पनि सद्भावना दूत बन्न पाउँदा खुसी लागेको बताएकी थिइन् । चीनमा उनको लोकप्रियतालाई मध्यनजर गर्दै सरकारले उनलाई यो जिम्मेवारी सुम्पिएको हो । नेपाल भ्रमण वर्षको सद्भावना दूत भएसँगै उनले हालैमात्र नेपालका दुई पर्यटकीय क्षेत्रको भ्रमण गरेकी छिन् । त्यसक्रममा उनले बुद्ध जन्मस्थल तिलौराकोट तथा बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण गरेकी छिन् ।
५ फिट ७ इन्च अग्ली चिङले सन् १९९० मा प्रदर्शन भएको ‘लाइफ अन अ स्ट्रिङ’ चलचित्रबाट अभिनयमा डेब्यू गरेकी थिइन् । त्यसअघि उनले सन् १९८८ मा बेइजिङ फिल्म एकेडेमीमा भर्ना भएर अभिनयको औपचारिक अध्ययन प्रारम्भ गरेकी थिइन् । उनले अभिनय गरेको पहिलो चलचित्र नै सन् १९९१ को कान्स फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो । चिङले डार्क अब्सेसन, द इम्पेरर्स स्याडो, आइ लभ यू टु, मिस्टर सिक्ससहितका थुप्रै हलिउड तथा चिनियाँ चलचित्रहरूमा अभिनय गरिसकेकी छिन् । उनको पछिल्लो चलचित्र ‘हिडन म्यान’ एक वर्षअघि प्रदर्शन भएको थियो । टेलिभिजनका श्रृंखलाहरूमा समेत अभिनय गर्दै आइरहेकी चिङ पछिल्लो पटक ‘नोभोल्यान्ड : इगल फ्ल्याग’ शीर्षकका श्रृंखलामा देखिएकी थिइन् । चिनियाँ दर्शकमाझ अत्यन्त लोकप्रिय चिङलाई सामाजिक सञ्जाल विबोमा डेढ करोडभन्दा बढी प्रशंसकले फलो गरेका छन् भने उनको भ्लगलाई १ अर्बभन्दा बढीले पछ्याएका छन् ।
कृष्ण भट्टराई
तस्बिर सौजन्य : समर स्टुडियो, बेइजिङ